Advertisement
विज्ञापन

बागलुङको बडिगाडका विद्यार्थीकाे स्कुल आउजाउमै बित्छ दैनिक ४ घण्टा



Advertisement
विज्ञापन

बागलुङ: बडीगाड गाउँपालिका-८, रणसिंकिटेनीको भृकुटी माविमा कक्षा ७ मा पढ्ने भीमकुमारी घर्ती २ घण्टा हिँडेर विद्यालय पुग्छिन् । कक्षा भेट्टाउन पनि बिहान ८ बजेभित्रैमा हिँडिसक्नुपर्ने बाध्यता छ । भीमकुमारीका बाबु डिलप्रसाद गलकोटको हटिया बजारमा मजदुरी गर्छन् ।

घरमा आमा र भाइबैनी मात्रै छन् । गोठमा गाईभैंसी र बाख्रा पनि भएकाले बिहानबेलुकी आमालाई सघाउनेसमेत उनको जिम्मा छ । ४ बज्दा नबज्दै उनलाई घर फर्कन हतारो हुन्छ । जाडो मौसममा उनको झोलामा टर्च लाइट र वर्षात्मा ओड्ने छुट्दैन ।


Advertisement
Advertisement
Advertisement

कक्षा ५ सम्म सिद्धबारी प्राविमा पढेकी उनलाई कक्षा ६ देखि दैनिक ४ देखि ५ घण्टा हिँड्ने सास्ती थपिएको हो । उनीसँगै कक्षा ९ की मीना पाइजा, कक्षा ८ का पिपला पाइजा र कक्षा ७ का अर्जुन घर्ती पनि दैनिक दुई घण्टा हिँडेर विद्यालय आइपुग्छन् । नजिकमा विद्यालय छैनन् ।

यहाँको पुरानो गाउँ, होरहोरेका विद्यार्थी पनि २ घण्टा हिँडेर जलजला पुग्छन् । आफ्नै वडाको भृकुटी माविभन्दा जलजलाको वनस्पति मावि नजिक भएकाले उनीहरू उता गएका हुन् । नजिक पर्नेलाई पनि सास्ती भने छ । दैनिक आउजाउमा ४ घण्टा बिताउने विद्यार्थी ५० भन्दा धेरै रहेको प्रधानाध्यापक टेकप्रसाद श्रीषले बताए ।

छरिएको गाउँ छ, आउनजान दुई/दुई घण्टा हिँड्नुपर्ने धेरै विद्यार्थी छन्,’ श्रीषले भने, ‘विद्यालयमा विद्यार्थी टिकाउनै समस्या छ, गुणस्तर कसरी बढाउने थप चुनौती झेलेका छौं ।’ २ सय ७ विद्यार्थी पढ्ने यो विद्यालयमा शिक्षक दरबन्दीसमेत अभाव छ । निजी स्रोत र राहतका शिक्षक राखेर पढाउनुपर्दा अभिभावकलाई मार परेको उनले बताए ।

निरन्तर विद्यार्थी मूल्यांकन गर्दा गुणस्तर बढाउनेभन्दा बालबालिका टिकाउने समस्या बढी खेपेको उनको भनाइ छ । ‘अधिकांश मदजुरका बालबालिका पढ्ने, घरमा पनि काम सघाउनुपर्नेहरू छन्,’ उनले भने, ‘आवासीय विद्यालय नबनेसम्म गुणस्तर बढाउन सकिँदैन ।’

पैदलमा नै समय खर्च हुने विद्यार्थीबाट गृहकार्य गरे/नगरेको वा पढाइको क्षमता विकास भए/नभएको मूल्यांकन गर्न नसकेको उनले बताए । शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्यायले गुणस्तर बढाउन टाढाटाढा विद्यालय बनाउनुभन्दा वडामा एकएक वटामा आवासीय विद्यालय बनाउन सकियो भने न्याय हुने बताए ।

‘विद्यार्थीले पढ्यो कि पढेन भन्नु भन्दा कुन अवस्थाबाट आएको हो ? घरको जिम्मेवारी के छ भन्ने पत्ता लगाउनुपर्छ,’ उनले भने, ‘ग्रामीण क्षेत्रका विद्यार्थी र सदरमुकामको सुखमा बसेकालाई एउटै डालोमा मूल्यांकन गर्दा अन्याय भएको छ ।’

भृकुटी माविमा पढ्न आउने कतिपय विद्यार्थीलाई खोलाको पनि डर छ । भीमखोलासहित नजिकका खोलामा पुल नहुँदा वर्षात्मा कतिपय बालबालिका पढ्न आउनै नसकेको श्रीषले बताए ।

विद्यालय भर्ना अभियानमा केही बालबालिका छुट्ने र छिट्टै विद्यालय छाड्ने दर बढ्नुमा भौगोलिक कठिनाइ मुख्य कारण भएको वडाध्यक्ष जंगबहादुर बलालले बताए ।

‘हामी ठूलालाई त वडा र विद्यालयमा जान सास्ती छ, बालबालिकाले कसरी गएर पढ्ने ?’ बलालले भने, ‘सिंगो गाउँपालिका बनाउने जत्रो वडामा एउटा मात्र मावि हुँदा दुःख भएको छ ।’ कतिपय अभिभावकले भने सदरमुकाम र गलकोटको हटियामा पनि लगेर पढाएको उनले बताए



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad