
गुल्मी– गुल्मी जिल्लामा रहेका ३ वटा क्याम्पसहरुमा स्ववियु निर्वाचन भइरहेको छ। जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पस, श्रीङ्गेश्वर बहुमुखी क्याम्पस र रुद्रवती बहुमुखी क्याम्पसमा मतदान भइरहेको हो।
यी क्याम्पसहरुमा बिहान ८ बजेबाट शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको क्याम्पसहरुले जनाएका छन्। जिल्ला सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पस ७६१ जना, रुद्रवती बहुमुखी क्याम्पसमा १८१ जना र श्रीङ्गेश्वर बहुमुखी क्याम्पस १५० जना विद्यार्थी रहेका छन्।
रेसुङ्गा र रुद्रावती क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले तालमेल गरेका छन् भने श्रीङ्गेश्वर बहुमुखी क्याम्पसमा नेविसंघ र अनेरास्ववियु (क्रान्तीकारी) तालमेल गरेर उम्मेदवार उठाएका छन्।
११ क्याम्पस मध्ये ८ वटा क्याम्पसमा सबै पद निर्विरोध भएका थिए। जिल्लाको मानका टिकाराम, सत्यवती, रिडी, रुरु संस्कृत विद्या पिठ, जनज्योति, धुर्कोट परमानन्द भण्डारी, चन्द्रकोट, दिगाम आर्दश बहुमुखी क्याम्पसमा निर्विरोध निर्वाचित भएका हुन्।
जिल्ला सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा हुने स्ववियु निर्वाचनलाई निकै चासोका साथ हेरिने गरिन्छ। यहाँ अनेरास्ववियु र नेविसंघबीच कडा प्रतिस्पर्धा हुँदैछ।
यस क्याम्पसमा ०७३ सालमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुले सभापति सहित जितेको थियो। त्यसयता स्ववियु निर्वाचन भएको थिएन। यस क्याम्पसमा जिल्ला स्तरमा नेताहरुसमेत विद्यार्थीसँग मत माग्न क्याम्पसमै पुगेका छन्।