
नेकपा गुल्मीले सहिद सप्ताहको सन्दर्भमा मदानेमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ ।
शनिबार मदानेको पुर्कोट दहमा आयोजना गरिएको कार्यक्रममा महान जनयुद्धका क्रममा गुल्मीका प्रथम सहिद कृष्ण कुँवर क.’नवराज’, खिमबिक्रम नेपाली क.राहुल’, बिना नेपाली क.’निर्मला, राधिका भुसाल क.करूणा, जगतबहादुर कुँवर क.’संघर्ष’, कृष्ण जिसी क. ‘प्रीतम’ लगायत सहिद परिवारलाई सम्मान गरिएको छ ।
सम्मान कार्यक्रममा बोल्दै पार्टी जिल्ला सल्लाहकार क.कर्ण बहादुर केसीले जनयुद्धका सहिदहरूको सपना पूरा नभएको भन्दै क्रान्तिलाई ब्यवहारमा जोड्नुपर्ने बताउनु भएको छ । उहाँले अहिले नेपाली जनताको अवस्था कमजोर रहेको भन्दै शारीरिक रूपमा कमजोर बन्दै गएपनी बैचारिक रूपले निरन्तर सहयोग रहने बताउनुभयो ।
पार्टी जिल्ला इन्चार्ज सुमन सीले जनयुद्धको अधुरो सपनाहरू एकीकृत जनक्रान्तिमार्फत पूरा गरिने बताउनुभयो । उहाँले जनयुद्वका ७ वटा उद्वेश्य पूरा नभएको बताउदै सहिदका सपनाहरू पूरा गर्न सहिद परिवारको सहयोग जरुरी रहेकोे बताउनुभयो ।
जिल्ला सचिवालय सदस्य क.भीषण सीको संचालन र जिल्ला सचिवालय सदस्य एबं अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) पूर्वी लुम्बिनी ब्यूरो इन्चार्ज क. प्रकाश सीको स्वागतमा सम्पन्न भएको छ ।
केन्द्रीय कार्यक्रम अन्तर्गत नेकपाले जिल्लामा रहेका जनयुद्धका ३३ जना सहिद परिवारलाई सम्मान र भेटघाट गरिरहेको छ । यसअघि सत्यवती गाउँपालिकाका ३ जना सहिद परिवारलाई घरमै पुगेर भेटघाट गरेको थियो ।