
गुल्मीको एक सडक पिच गर्ने कार्यमा चरम लापर्बाही भएको छ । जिल्लाको सदरमुकाम तम्घासबाट धार्मिक क्षेत्र रेसुङ्गा जाने सडक पिच गर्ने कार्यमा चरम लापर्बाही भएको हो । त्यस सडकमा खटिएका प्राविधिकहरुले गुणस्तरहिन काम गरेको भन्दै उपभोक्ता र सरोकारवाले बिहिवार निर्माण स्थलमै पुगेर आक्रोशित भएका छन्।
तम्घास रेसुङ्गा सडक नामकरण गरी २०७४ साल असार ३० गते १७ करोड १८ लाख ४९ हजार ३९० रुपैयाँ लागतमा सम्झौता भई पिच गर्ने जिम्मा पाएको थियो ।आशिष रामेछाप जेभिले त्यसबाट निर्माणको जिम्मा पाएको हो । रामेछाप कन्ट्रक्सन प्रा .लि.ले तम्घासको खानीगाउँ देखि रेसुङ्गा महादेव पोखरी सम्म जम्मा ६ किलो मिटर पिच गर्ने जिम्मा पाएको त्यस निर्माण प्रा.लि.ले अहिले ६ बर्ष सम्म पनि काम सम्पन्न गर्न सकेको छैन् । ८० प्रतिशत कामको मुल्याङन देखाउँदै भुक्तानी भने १३ करोड ५२ लाख २८ हजार ६५२ ठेकेदारलाई दिलाई सकिएको सडक पुर्वधार विकास कार्यालय तम्घासले जनाएको छ ।
विभिन्न कारणले काम ढिला हुन गएको प्रति सरोकारवाला असन्तुष्ट छैनन् तर निर्माण कार्य गुणस्तरहिन भएको प्रति निकै आक्रोशित छन् । पिच गर्नका लागि तयार पारिएको बेसमा बिछाईएको प्राईम हात वा कुनै झिजोले कोट्उँदा बगरको बालुवा जस्तै हुने भए पछि उपभोक्ता र सरोकारवालाले आक्रोश पोखेका हुन् ।
पिच गर्न सुरु गरेको सडक बगरको बालुवा झै देखिने तस्वीर सामाजिक सञ्जालमा आई सके पछि जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्री , रेसु्ङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी , प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक सहित अधिकांस सरकारी निकायका प्रमुख , जनप्रतिनिधीहरु र स्थानीय अगुवाहरु निर्माण स्थलको अनुमगन गर्न पुगेका थिए । अनुगमनमा पुग्दा ढल नाली पनि मापदण्ड अनुसार निर्माण नगरेको उपभोक्ताहरुको ठहर छ । माथी गर्जुराको डाँडाको भल उता रेसुङ्गाको बन तर्फ नपठाउने हो भने भोलीका दिनमा बाख्रेछेडा र तम्घास बजार सम्मका बासीन्दाले बर्षायामा जोखिम मोल्नु पर्ने देखिएको छ ।
सडक पुर्वधार विकास कार्यालय तम्घासले सुपरिवेक्षण गर्नु पर्ने , ठेकेदारबाट राम्रो काम लिई राज्यलाई गुणस्तरिय काम दिनु पर्ने दायित्व बोकेका त्यस कार्यालयका प्रमुख ईन्जिनियर सचितानन्द चौथरी उल्टै ठेकेदारको बचाउन गर्न थाले पछि केहि बेर सरोकारवाला आक्रोशित भए । उनलाई ठेकेदारबाट कमिशन खाई काम गरेको आरोप समेत लगाए । सडकको बेस कोट्याउँदै यहि हो काम ? भनेर झपारेका थिए ।
निर्माणको जिम्मा पाउने रामेछाप कन्ट्रक्सन प्रा.लि.का प्रमुख बिरेन्द्र भुसाल भने गुणस्तरिय कामका लागि आफुले कुनै प्रकारको सम्झौता नगरेको बताउँदै थिए । उनले मापदण्डा अनुसारकै काम भईरहेको दाबी गर्दै थिए ।
अन्तिमा जिल्ला समन्वय प्रमुख खत्री , मेयर पन्थी, प्रमुख जिल्ला अधिकारी पाठक , र माओवादी केन्द्रका नेता अशोक थापाले कार्यालय प्रमुख चौथरीलाई कडा चेतावानी दिदै कम्जोरी देखिएको ठाउँमा सच्चाउन सुझाउँदै फर्किएका थिए ।