
दिपेन्द्र खत्री,
फागुन १५, तम्घास । नेकपा गुल्मीले जिल्लामा वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।
आइतबार प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई ज्ञापनपत्र बुझाउदै बैंक तथा बित्तीय संस्थाहरुको चर्को ब्याजदरलाई एक अङ्कमा कायम गर्नुपर्ने, लघुबित्त संस्थाहरुको ज्यादती बन्द गर्नुपर्ने, लुघवित्त संस्थाहरुले ऋण लगानीमा हाल लिने गरेको सेवा शुल्क १ देखि १.५ % लाई घटाएर ०.५% कायम गर्नुपर्ने, यसभन्दा पहिले सेवा शुल्कबापत लिइएको बढी रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुपर्ने, लघुबित्त संस्थाहरुले आफ्नो लक्ष्य पुरा गर्ने नाममा गाउँघरका सोझा इमान्दार महिलाहरुको समूह बनाउने र अनुत्पादक क्षेत्रमा ऋण दिएर सर्वसाधारण महिलाहरूलाई जवर्जस्त ऋणी बनाउने कार्य तत्काल बन्द गर्नुपर्ने माग गरेको छ ।
नेकपाले लघुबित्त संस्थाहरुले बिनाधितो लगानी गर्ने, कर्जाको सिमा बढाएर उत्पादनमूलक क्षेत्रमा उद्यम गर्न चाहनेलाई सरल रुपमा आवश्यक बित्तीय एबम् व्यवसायिक तालिम तथा शिक्षा प्रदान गरेर मात्रै लगानी गर्ने गर्नुपर्ने,स्वदेशमै उद्यमी बनेर केही गर्न चाहने युवाहरूको लागी बाणिज्य तथा बिकास बैंकहरुले सरल र सहज रुपमा बिनाधितोमा दिनुपर्ने कर्जा लगानी नगरेको हुँदा बिना धितो कर्जा लगानी र कृषि क्षेत्रमा गर्नुपर्ने लगानीलाई सहज, सरल र पारदर्शी बनाउनुपर्ने माग गरेको छ ।
मागपत्रमा सङ्कटग्रस्त, समस्याग्रस्त उद्यमी, व्यवसायी र लघुवित्तका ऋणीहरुलाई ऋणको असुलीको नाममा गरिने दुव्र्यवहार, मानसिक यातना, धाकधम्की, गुण्डाको प्रयोग, सामाजिक प्रतिष्ठामा ठेस पुर्याउने अभिब्यक्ति र पारिवारिक रुपमा छिन्नभिन्न बनाउने, आत्महत्या गर्न दुरुत्साहन गर्ने, सम्बन्ध विच्छेद गर्न बाध्य गर्ने, घरमा ताला लगाउने र घरको जायजेथा कब्जा गर्ने कार्य तत्काल बन्द गर्न माग गरिएको छ ।
ज्ञापनपत्रमा १६ वटा मागहरु रहेको छ । नेकपाका गुल्मी इन्चार्ज सुमन सीले गाउँमा लघुवित्त संस्थाको ज्यादती र सहरमा बैंकको चर्को ब्याज विरुद्ध पहिलो चरणमा राज्यको ध्यानाकर्षण गरिएको बताएका छन् । उनले गाउँमा दिदीबहिनीहरुमाथि लघुवित्त संस्थाहरुले गरेको ज्यादती विरुद्ध संघर्ष गर्ने बताएका छन् । उनले बित्तीय संस्थाको ज्यादी रोक्न पीडितहरुले पार्टीमा निवेदन दिएको बताउदै राज्यले यसको नियन्त्रण नगरे पार्टीले जनकारवाही गर्ने बताएका छन् ।
ज्ञापनपत्र बुझाउन नेकपा जिल्ला इन्चार्ज सुमन सी, सचिवालय सदस्यहरु बसन्त सी, विनोद सी, तारा सी, बाबुलाल सी, मैत सीलगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।