
दिपेन्द्र खत्री,
फागुन १४, तम्घास । नेपाल कम्युनिस्ट पार्टी गुल्मीले जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गरेको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय तम्घासमा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकलाई ज्ञापनपत्र बुझाउदै महान जनयुद्धको राजनीतिक लक्ष्य प्राप्तिका लागी पहलकदमी लिनपर्ने, बेपत्ता पारिएका योद्धाहरुको स्थिति सार्वजनिक गर्नुपर्ने, सहिद तथा बेपत्ता योद्धाहरुको योगदानलाई संस्थागत गर्नुपर्ने, सहिद तथा बेपत्ता योद्धाहरुको नामावली सहित सरकारद्धारा आधिकारिक रुपमा स्मारिका प्रकाशन गर्नुपर्ने, उनीहरुका परिवारलाई परिचय पत्र बनाईदिनुपर्ने, उनीहरुको अभिभावकत्व राज्यले ग्रहण गर्नुपर्ने, सहिदका परिवारलाई शिक्षा र स्वास्थ्यको पूर्ण ग्यारेन्टी गर्नुपर्ने माग गरिएको छ ।
ज्ञापनपत्रमा.सहिद तथा बेपत्ता योद्धा परिवारका सदस्यहरुलाई सरकारी सेवामा आरक्षणको व्यवस्था गर्नुपर्ने, संघ, प्रदेश एवं स्थानिय तहमा जनयुद्धका क्रममा भएका विशेष घटनालाई (जस्तै दोरम्बा घटना) सोही तहमा इतिहासको रुपमा संस्थागत गर्ने, दिवस मनाउने, सम्मान व्यक्त गर्ने जस्ता कार्यक्रमहरु सम्बन्धित निकायबाट नै आयोजना गर्नुपर्ने, जनयुद्ध लगायतका सबै राजनीतिक युद्ध र आन्दोलनमा सहभागी अर्थात् प्रतिबन्धका बेला गिरफ्तार गरिएका पार्टीका नेता कार्यकर्ता तथा सम्पूर्ण राजनैतिक आस्थाका बन्दीहरुलाई तत्कालै रिहा गर्नुपर्ने र झुठा मुद्दाहरु खारेज गर्नुपर्ने माग गरिएको छ ।
ज्ञापनपत्र बुझाउने क्रममा नेकपा गुल्मीको इन्चार्ज सुमन सीको नेतृत्वमा सचिवालय सदस्यहरु बसन्त गैरे, विनोद पोखरेल, सदस्यहरु तारा बस्नेत, बाबुलाल नेपाली, सहिद परिवार मैत सार्की, स्थानीय पत्रकारलगायतको उपस्थिति रहेको थियो । नेकपाले गुल्मीले केन्द्रीय संघर्षको कार्यक्रम अन्तर्गत ज्ञापन पत्र बुझाएको हो । यसक्रममा नेकपाले जिल्लामा बित्तीय संस्थाको ज्यादती विरुद्ध माग पत्र समेत बुझाएको छ ।