समाजशास्त्रमा मास्टर डिग्री गरेका कुँवर वडाअध्यक्षमा भिड्दै

मनु सुनार मनसुन
गुल्मी, ०९ बैशाख। गुल्मीकोे इस्मा गाउँपालिका वडा नम्बर एकमा शेर बहादुर कुँवर वडाअध्यक्षमा सर्वसम्मत उम्मेदवार बन्नुभएको छ । कुँवर नेपाली काँग्रेसबाट वडाअध्यक्षमा सर्वसम्मत उम्मेदवार बन्नुभएको हो । कुँवरले समाजशास्त्रमा मास्टर डिग्री गर्नुभएको छ । आफ्नो अध्ययन, अध्यापनपश्चात कुँवर निरन्तर सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । त्यहाँको विपद्, कृषि, स्वास्थ्य , शिक्षा, खानेपानी, सडक लगायतका क्षेत्रको विकास लागि कुँवरले महत्वपूर्ण योगदान र समन्वयकारी भूमिका खेल्नुभयो ।

समाजशास्त्रमा मास्टर डिग्री गर्नुभएका कुँवरसँग समाज, गाउँटोललाई कस्तो बनाउने भन्ने भिजन छ । कुँवर आफैमा भिजेनेबल व्यक्ति हुनुहुन्छ । उहाँले सामाजिक क्षेत्रमा पु–याएको योगदान अनगिन्ती छन् । शिक्षा क्षेत्रमा गुणस्तर स्तरवृद्धिका लागि पनि योगदान पु–याउँनुभयो । कुँवरकै समन्वय तथा सक्रियतामा हिमालय माध्यमिक विद्यालयमा अहिले प्राविधिक धारतर्फ १२ कक्षा सम्म सञ्चालन भएको छ ।

त्यस विद्यालयमा ८ जना प्राविधिक शिक्षकहरुका लागि दरबन्दी सिर्जना भएको कुँवरको भनाइ छ । त्यहाँ प्राविधिक धारको शिक्षा सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्यले आफ्नै सक्रियतामा समुदायबाट करोडौं रुपैयाँ उठाएर प्राविधिक धारतर्फको शिक्षा सञ्चालन गरेको कुँवरले बताउनुभयो । त्यस विद्यालयको नाममा प्रयोगात्मक सिकाइका लागि अहिले १७ रोपनी जग्गा समेत छ ।

यतिमात्र होइन कुँवर आफै पनि अगुवा कृषक हुनुहुन्छ । गाउँमा सहकारी स्थापना गर्दै कृषक र कृषिको उत्थानका लागि निरन्तर नविनतम काम गर्दै आउनुभयो । लुम्बिनी प्रदेशमा पहिलो पटक यन्त्रमैत्री, चक्लाबन्दी ग्रह्रा सुधार कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको कुँवरको भनाइ छ ।

सो कार्य कृषकहरुका लागि अहिले उदाहरणीय कार्य बन्दै आएको छ । कुँवरले पनाहघाट देखि सिमलटारीसम्म बाटो सञ्चालनका लागि समन्वयकारी भूमिका खेलेको स्मरण गर्नुभयो । तत्कालिन समयमा एउटा संस्थासँग समन्वय गरेर त्यो बाटो सञ्चालनका लागि आफै संयोजक भएर काम गरेको कुँवरको भनाइ छ ।

विपद्को क्षेत्रमा पनि राहत र उद्धारका लागि योगदान पु–याउनुभएको छ । विपद् परेको बेलामा तत्काल राहत उद्धारका लागि आफ्नो गाउँठाउँमा नेपाल रेडक्रस सोसाइटीको उपशाखा गठन गरेर साविकको प्रत्येक ९ वटै वडामा विपद् व्यवस्थापन समिति मार्फत कार्य गरेको बताउनुभयो ।

खानेपानीको क्षेत्रमा पनि कुँवरले महत्वपूर्ण योगदान दिनुभयो । जुन्दुरखोला, हर्पुकोट, उजुङ्ग लिफ्टिङ्ग खानेपानी आयोजनाको सुरुवातका लागि पनि कुँवरले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । अहिले यो योजना सम्पन्न भई यहाँका नागरिकहरुका लागि ठुलो सहयोग पुगिरहेको छ । सामाजिक कार्यमा यस्ता थुप्रै उदाहरणीय कार्य गरेकाले पनि वडाअध्यक्षमा आफ्नो दाबी गरेको कुँवरको भनाइ छ ।

कृषक र कृषिमा भिजेका कुँवरले वडालाई हरित कृषि क्रान्ति अभियान शुरु गर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतको आवश्यक सुधार गर्दै जाने योजना रहेको सुनाउनुभयो । त्यस वडामा रहेको राहाले, घर्तिफाँट, भरना, भराहा, मजुवा समेतको फाँटलाई व्यवस्थित गरेर अनुकरणीय कृषि क्षेत्रको रुपमा विकास गर्ने बताउनुभयो । कृषिमा उत्पादन वृद्धिका लागि पहिलो प्राथमिकताका साथ काम गर्ने बताउँदै हजारौं रोपनी जग्गामा कृषि कार्य सञ्चालन गर्ने बताउनुभयो । कृषि मार्फत रोजगारी सिर्जना गर्ने कुँवरको सोंच छ । थुप्रै नवितम सोंचका साथ अघि बढ्ने लक्ष्यका साथ आफ्नो वडाअध्यक्षमा उम्मेदवारी रहेको कुँवरको भनाइ छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै